हाँस्य व्यांग्य कलाकार विष्णु सापकोटा ‘हर्के हल्दार’ ले सामाजिक विषयबस्तुमा आधारित वेब–श्रृंखला ‘मुक्ति’ ल्याउने भएका छन् । यो श्रृंखलालाई दर्शकले ७ मंसिरदेखि विष्णु सापकोटाको अफिसियल युट्युब च्यानलमा हेर्न पाउनेछन् । श्रृंखलाको ट्रेलर पनि सार्वजनिक भएको छ ।
आयोजित पत्रकार सम्मेलनमा सापकोटाले ‘मुक्ति’ श्रृंखलाबारे जानकारी गराए । अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा सिरिजको टिमले श्रेष्ठलाई सम्मान समेत गरेको थियो।
मदनकृष्णले कलाकार सापकोटाको प्रतिभाको प्रशंसा गर्दै श्रृंखलाको सफलताको शुभकामना समेत दिए ।
सो अवसरमा कलाकार रमेश बुढाथोकी, दीपाश्री निरौला, राजाराम पौडेल, सुरेन्द्र केसी, श्याम राई, आरपी पन्त, उपेन्द्र तिमल्सिना, बसन्त सापकोटा, डिजराज पौडेल लगायत उपस्थित थिए ।
निर्देशक तथा अभिनेत्री निरौलाले सापकोटाको कलाकारिताको चर्चा गरिन् । उनीसँग टिभी श्रृंखलामा काम गर्दाका विगतका दिन सम्झिँदै उनले आउन लागेको श्रृंखलालाई शुभकामना दिइन् ।
‘मुक्ति’ लाई युनिक सापकोटाको प्रस्तुतिमा माधव तिमल्सिनाले निर्माण गरेका हुन् । यसमा सापकोटासँगै लक्ष्मी गिरी, सुशील पोखरेल, राजेन्द्र खड्गी, हिउँवाला गौतम, बालदीप राई, माधव तिमल्सिना लगायतका कलाकारले अभिनय गरेका छन् ।
सापकोटाले १०० भन्दा बढी कथानक फिल्म, सडक नाटक र दर्जनौ टिभी श्रृंखलामा काम गरिसकेका छन् । उनकै निर्देशनमा बनेको ‘हर्के हल्दार’ निकै चर्चित श्रृंखलामध्ये एक हो ।


