फिल्म ‘मिरमिरे’ माघ १ गते आउँदैछ । छोरीका लागि बाउले गरेको संघर्ष यो सिनेमामा छ । आमाले घर छोडेपछि छोरी र बाउ मात्रै घरमा हुन्छन् । सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन् । त्यसैले उनका लागि सबै बुवाले नै गर्नुपर्छ।

छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ ? यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य ‘मिरमिरे’मा छ । छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरममिरे’को निर्माण टिम ढुक्क छ।
“हरेक बुवाआमालाई आफ्ना सन्तानको अथाहा माया हुन्छ । त्यो माया कति देखाउने भन्ने मात्रै हो,” मिरमिरेका निर्देशक यम शेर्पा भन्छन्, “बुवाले छोरीलाई गर्ने माया र उसका लागि गरेको त्याग हाम्रो चलचित्रले देखाउँदैछ ।” हरेक घरघरको कथा भएकाले ‘मिरमिरे’लाई दर्शकले मन पराउने र अधिकांशले आफूमा रिलेट गर्ने उनी बताउँछन्।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।


