अभिनेत्री तथा मोडल गरिमा शर्मा फिचर्ड हिन्दी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । महंगो लागतमा तयार भएको भनिएको उक्त भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ।
शनिबार राजधानीमा एक भब्य समारोहबीच सार्वजनिक गरिएको भिडियोमा गरिमासँग मोडल तथा गायक रोशन अधिकारी फिचर्ड छन् । अमेरिकामा नै बस्दै आएका अधिकारीले भिडियोको लागत ५५ हजार अमेरिकी डलर दाबी गरे । हालको विनिमय दर अनुसार उक्त रकम नेपाली रुपैयाँमा झण्डै ७५ लाख हुन आउँछ।
अमेरिकाका विभिन्न मनोरम लोकेशनमा छायांकन गरिएको भिडियोमा दुई युवा युवतीबीचको सुन्दर प्रेम कहानी समेटिएको छ । गरिमा र रोशनलाई प्रेमिल मुद्रामा फिचर्ड गरिएको भिडियोको मेकिङ उच्च देखिन्छ । भिडियोमा कैद भएका दृश्य र गीतका शब्दले एक प्रेमीले प्रेमिकाप्रति देखाउने प्रेम भाव प्रकट गर्छन्।
सार्वजनिक गीतमा शब्द तथा संगीत गायक तथा मोडल स्वंयम अधिकारीले नै तयार गरेका छन् । सुमन लामिछानेको कोरियोग्राफीमा तयार भिडियोमा सम्पादन विवेक सुनारको छ भने कलरिङ मिलन विश्वकर्माको छ । अमृत विस्वले छायांकन गरेको भिडियो शान थापाको कन्सेप्टमा सिद्धार्थ विस्वले निर्देशन गरेका हुन् ।
नेपालबाट म्युजिक भिडियो छायांकनकै लागि अ मेरिका पुगेकी अभिनेत्री शर्माले भिन्न अनुभव र राम्रो टिमअपमा उत्कृष्ट रिजल्ट आएको बताइन् । नेपाली गीत संगीत र मनोरञ्जन क्षेत्र आफ्नो जीवनको अभिन्न अंग बनिसकेको भन्दै गायक मोडल तथा संगीतकार अधिकारीले आगामी दिनमा पनि यो क्षेत्रमा निरन्तर रहने बताए । लगानीबारेको प्रश्नमा अधिकारीले गीतको आवश्यकता अनुसार नै खर्च भएको र केहि रकम नेपाल अमेरिका ट्राभलकै कारण पनि बढेको बताए ।




