उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस गीतले अध्ययनका लागि विदेश जान लागेकी युवती र नेपालमै बसेर उनको सफलताको प्रतीक्षामा रहने प्रेमीबीचको सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। गीतले दूरीभन्दा विश्वास बलियो हुने र साँचो प्रेमलाई विश्वासले नै जीवनभर जोडिराख्न सक्ने सन्देश दिन्छ।
गीतमा निर्मल श्रेष्ठको शब्द, संगीत तथा निर्देशन रहेको छ भने छायांकन र सम्पादन निरज भुसालले गरेका हुन्। म्युजिक भिडियोमा एन्जल राई र गायक आदित्य श्रेष्ठ स्वयंको अभिनय रहेको छ। यस म्युजिक भिडियोमा सृजनात्मक निर्देशक (क्रियटिभ डाइरेक्टर) का रूपमा सुब्रत आचार्यले सहकार्य गरेका थिए।

सानैदेखि संगीतप्रति रुचि राख्दै आएका आदित्यले हालै जेभियर एकेडेमी, लाजिम्पाटद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ प्रतियोगितामा आफ्नो समूहसहित विजेता बन्न सफल भएका थिए। साथै, सन् २०१७ मा आयोजित ‘मिस्टर एन्ड मिस लिटल लुम्बिनी’ प्रतियोगितामा पनि उनी पुरुषतर्फ विजेता बनेका थिए।
‘बाचा’ आदित्य श्रेष्ठको सांगीतिक यात्राको पहिलो आधिकारिक प्रस्तुति हो। युवा पुस्ताको प्रेम, सपना, अध्ययनका लागि विदेशिने बाध्यता र विश्वासको भावलाई समेटिएको यो गीतले श्रोता तथा दर्शकको मन छुने अपेक्षा गरिएको छ।

