विपिन कार्कीले थाले उपकरण व्यवसाय विपिन कार्कीले थाले उपकरण व्यवसाय

 अभिनेता विपिन कार्की, छायांकार चिन्तन राजभण्डारीसहितले उपकरण व्यवसाय थालेका छन् । उनीहरूले ‘लाइट वेन्डर्स’ नामक कम्पनीमार्फत प्रोडक्सन र छायांकन व्यवस्थापनका काम अघि बढाएका हुन् ।

साढे ६ टन, दुई टन र साढे तीन टनका अलग अलग ग्रीप ट्रक तयार छन् । टाटाबाट गाडी किनेर भक्तपुरको बीएन्डबीच इन्जिनियरिङ कम्पनीसँग मिलेर उनीहरूले ट्रक तयार पारेका हुन् ।

श्याम खड्का र एरिस थापा समेत साझेदार रहेको यो कम्पनीले नेपालमा हुने फिल्म छायांकनका लागि ग्रीप ट्रक, लाइट लगायतका उपकरण उपलब्ध गराउनेछ । जसका लागि ३ वटा ग्रीप ट्रयाक तयार पारिएका छन् ।

ताइवानबाट ४० फिट अग्लो क्रेन, आरी ब्रान्डको अर्विटर, डली, फ्रेमसहितका उपकरण पनि भित्राएका छन् । पहिलो चरणमा मात्र ६ करोड रुपैयाँ लागत खर्च भैसकेको कम्पनीका अध्यक्ष समेत रहेका कार्कीले बताए ।

दोस्रो चरणमा एक भ्यानिटी भ्यान ल्याउने समूहको तयारी छ । कम्पनीले अहिल्यैदेखि सेवा थालेपनि आधिकारिक ओपनिङ भने दशैं अघि गर्ने तयारी छ । ‘यी ३ वटा ट्रकको ओपनिङ दशैंअघि हुन्छ’ उनले भने ।

यी उपकरणको मद्दतमा काम गर्दा १० जनाको काम दुईजनाले गर्न सक्ने, समय र जनशक्ति बचत पनि हुने उनको भनाइ छ । ‘हामीले बलिउडमा गएर हेर्दा पनि यस्तो काम त्यति व्यवस्थित देखेनौं । अब नेपालमा व्यवस्थित गर्ने सोचमा छौं’ विपिन भन्छन् ।

कम्पनीमार्फत उपकरण र प्रोडक्सन व्यवस्थापन गर्ने जनाउँदै विपिनले लाइट र ग्रीपलाई सहजरुपमा व्यवस्थित गर्ने सोच रहेको बताए । ‘फिल्म उद्योगको प्रतिष्ठाको कुरा पनि आउँछ नि त’ उनले भने ।

यो कम्पनीमार्फत निकट भविष्यमा विदेशी फिल्मको छायांकन व्यवस्थापन पनि गर्ने तयारी छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti