डकुमेन्ट्री‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको कोब इन्टरनेसनल अवार्ड जिते डकुमेन्ट्री‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको कोब इन्टरनेसनल अवार्ड जिते

गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ ।

डाक्टरले पुनः सामान्य रूपमा हिँड्न, बोल्न वा दैनिक जीवनमा फर्किन कठिन हुने बताएका केही व्यक्तिले हार नमानी नेपाल आएर सगरमाथा आधार शिविर पुग्ने सपना बोकेका थिए । द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरीबाट बाँचेका व्यक्ति तथा उनीहरूका परिवारसहित सात जनाको टोली सगरमाथा आधार शिविर पुगेको थियो । यही असाधारण यात्रालाई निर्देशक पाण्डेले करिब डेढ वर्ष लगाएर डकुमेन्ट्रीमा प्रस्तुत गरेका हुन् ।

अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट सो फिल्म मात्र छनोट भएको थियो । महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा. रिचर्ड टाभेनारोका अनुसार संसारभरबाट प्राप्त फिल्मको प्रतिस्पर्धामा ‘द एभरेस्ट ड्रीम’ले उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड प्राप्त गरेको हो ।

‘ब्रेन इन्जुरी’ बाट बाँचेका बेलायती नागरिकको असाधारण सगरमाथा यात्रामा आधारित यो फिल्मले गम्भीर मस्तिष्क चोटपछि जीवनसँग संघर्ष गरिरहेका व्यक्तिले पुनः जीवनमा सपना देख्दै त्यसलाई पूरा गर्न गरेको प्रयासको कथा प्रस्तुत गरेको छ ।

‘द एभरेस्ट ड्रीम’मा एसोसिएट निर्मात्री शारदा गैरे, क्यामेरा पर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक इश्वर कोइराला, संगीतकार जुगल डंगोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको योगदान छ ।

‘द एभरेस्ट ड्रीम’ले पाण्डेको अन्तर्राष्ट्रिय डकुमेन्ट्री यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ । यसअघि उनको चर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ ले सन् २०१७ मा यही कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको थियो । त्यस्तै, बहुपति प्रथामाथि आधारित उनको अर्को डकुमेन्ट्री ‘को–हजबेण्ड’ ले सन् २०२२ मा सोही महोत्सवमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड प्राप्त गरेको थियो ।

पाण्डेले भने, ‘यो अवार्ड मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, हाम्रो सम्पूर्ण टिम र फिल्मका पात्रहरूको संघर्षको सम्मान हो । ब्रेन इन्जुरीपछि पनि मानिसले आफ्नो जीवनमा नयाँ सपना देख्न सक्छ र त्यसलाई पूरा गर्न सक्छ भन्ने सन्देश विश्वभर पुर्‍याउन पाउनु नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।’

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti