१५ वर्षपछि सुरेश अधिकारीको नयाँ गीत रातो टिका जमरा सार्वजनिक १५ वर्षपछि सुरेश अधिकारीको नयाँ गीत रातो टिका जमरा सार्वजनिक

हरेक वर्ष दशैँ नजिकिँदै गर्दा गाउँघरदेखि सहरसम्म गुञ्जिने परिचित धुन हो– ‘चरीररि रै…’। ‘वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो, नेपाली जनको महान् पर्व आँगनमा आइपुग्यो, हो दशैँ आयो’ भन्ने शब्द र संगीतले नेपालीको मनमा दशैँको उमंग थप्दै आएको छ।

नेपालीहरूको महान् पर्व दशैँ र वरिष्ठ संगीतकार सुरेश अधिकारीका सिर्जनाबीच विशेष सम्बन्ध रहँदै आएको छ। दशैँको माहोल सुरु भएसँगै उनका गीत सम्झिने र सुन्ने श्रोताका लागि उनका सिर्जना चाडपर्वको अभिन्न हिस्सा बनेका छन्। उनका गीतले हरेक वर्ष पुराना सम्झना ताजा बनाउनुका साथै दशैँको रौनकलाई थप जीवन्त बनाउँदै आएका छन्।

यही सांगीतिक यात्राका बीच वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दशैँ गीत ‘रातो टिका जमरा’ लिएर दर्शकमाझ आएका छन्। लक्षारा फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त गीत कृष्ण बीक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

दशैँको सांस्कृतिक महत्त्व, नेपाली मौलिकता र पारिवारिक उल्लासलाई समेटेर तयार पारिएको गीतको भिडियोमा कलाकार सञ्जय बिश्वकर्मा र सञ्जना गुरुङ फिचर्ड छन्। परम्परागत नेपाली पहिरन, रातो टीका, जमरा र ग्रामीण परिवेशलाई भिडियोमा समेट्दै दशैँको सांस्कृतिक रौनक प्रस्तुत गरिएको छ।

गीतमा कृष्ण बीक र जुनु रिजालको स्वर रहेको छ भने वेद जोशीले शब्द र सुरेश अधिकारीले संगीत दिएका छन्। गीतको कोरियोग्राफी तथा निर्देशन सञ्जय बिश्वोकर्मा (खिम्जन) ले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्।

लक्षारा फिल्म्सको प्रस्तुतिमा तयार भएको ‘रातो टिका जमरा’ ले नेपाली मौलिक संस्कृति, चाडपर्व र त्यससँग जोडिएका पारिवारिक तथा भावनात्मक पक्षलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ। दशैँलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस गीतले लामो समयपछि सुरेश अधिकारीको दशैँ गीत सुन्न पाउने श्रोतामाझ पुराना सांगीतिक सम्झना ताजा बनाउने अपेक्षा गरिएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti