सेनको ‘बलिदान’ हेरेपछि विजय लामा के भन्छन् ? सेनको ‘बलिदान’ हेरेपछि विजय लामा के भन्छन् ?

वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनरत ‘बलिदान’ हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन् । लामाले फिल्मले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको चलचित्र” भनेर प्रशंसा गरेका छन् ।

सोमबार साँझ चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले ठुलो बलिदानै पाएँ। यो चलचित्रसँग आबद्ध सबैको ठुलो योगदान देखेँ। यो फरक स्तरको चलचित्र हो। नेपाली चलचित्रको स्तर बढ्दै गएको छ भन्ने प्रमाण बलिदान हो।” लामाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आफू सधैँ प्रयासरत रहेको बताउँदै ‘बलिदान’ हेर्दा त्यसको सम्भावना अझ स्पष्ट रूपमा महसुस गरेको बताए। उनका अनुसार, “हामीले अभिनय गर्दा देखेको सपना अहिलेका सन्तोष सेनहरूले साकार पार्दैछन्।”

निर्देशक सन्तोष सेनको कामको प्रशंसा गर्दै लामाले भने, “मेरो समयमा सन्तोष सेन आइदिएका भए म पनि समीर भट्टजस्तै एक्सन अभिनय गरिरहेको हुन्थेँ होला।” समीर भट्टको अभिनयबारे बोल्दै उनले समीर र उनका पिता बिराज भट्ट दुवैको योगदानलाई फरक समयमा महत्त्वपूर्ण रहेको बताए। “बिराज बिराज नै हो, समीर समीर नै हो। बिराजको समयमा बिराजको अधिपत्य थियो, अब समीरको पालो हो,” लामाले भने।

यसैबीच, चलचित्रकी अभिनेत्री ऋचा शर्माले पनि दर्शकको माया पाउँदा आफू निकै भाव विह्वल भएको बताइन्। उनले समीर भट्टकी आमाको भूमिकामा गरेको अभिनयले दर्शकसँग गहिरो सम्बन्ध स्थापित गरेको बताइन्। “मेरा भूमिकासँग धेरै आमाहरू भावनात्मक रूपमा जोडिनुभयो, त्यो मेरो लागि खुसीको कुरा हो,” ऋचाले भनिन्।

सन्तोष सेन निर्देशित ‘बलिदान’ बडादसैँको अवसरमा फूलपातीबाट प्रदर्शनमा आएको हो। हाल दोस्रो हप्तामा पनि देशभर करिब १ सय ३० शोका साथ प्रदर्शन भइरहेकाले चलचित्रले पहिलो सातामै राम्रो व्यापारिक सफलता हात पारेको वितरकहरूले जनाएका छन्। अभिनेता समीर भट्टको दमदार एक्सन र अभिनयको प्रशंसा गर्दै दर्शकहरूले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा चित्रण गरिरहेका छन्। आमा–छोराबीचको प्रेम र त्यागमा आधारित कथाले दर्शकको हृदय छोएको बताइएको छ।

‘आशुसेन फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti