फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार प्रेसमिट गर्दै फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ । साथमा बिजय र अभिनेत्री समृद्धी अर्यालबिचको प्रेमलाई पनि महसुश गर्न सकिन्छ । प्रोमो :
जात र कुल ठेगान नभएका विजयको चोला परिवर्तन गर्ने चाहना र आफ्नो हैकम ओरालो लाग्न नदिने दयाहाङको ढिट ट्रेलरमा देख्न सकिन्छ । आफ्नो झोलामा खोला राखेर त्यसमा रजगज गर्ने दयाहाङ र त्यसको स्वाद आफू पनि लिन खोज्ने विजयको प्रयासलाई ट्रेलरमा समेटिएको छ।

स्तर उकास्न खोज्ने र स्तर कायम राखिराख्न खोज्नेबीचको द्वन्द्व ट्रेलरमा रोचक देखिएको छ । ट्रेलरमा वरिष्ठको चरित्रमा दयाहाङ र बलरामको चरित्रमा विजय देखिएका छन् । ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्।
‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ। निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।