अभिनेत्री अञ्जना बराइलीले फिल्म परानमा अभिनय गर्नुको कारण खोलेकी छन् । उनले फिल्मको संख्याभन्दा पनि विषयवस्तुका कारण स्वीकार गरेको बताइन् । योसँगै उनले यो फिल्म खोजीखोजी हेर्ने फिल्मको सूचिमा पर्ने बताउँछिन्।
‘म यसमा जोडिनुको एउटै कारण यसको विषय हो । यो मैंले खोजीखोजी हेर्ने फिल्मभित्र पर्छ,’ उनले भनिन्, ‘जति काम भएको छ, त्यो राम्रो भएको छ र म यो फिल्म हलमा हेर्न एकदमै उत्साहित छु। डबिङको समयमा नै मैले यो फिल्म त दशैंमै लगाउनुपर्छ भनेकी थिएँ, जब कि प्रायः म यस्तो भन्दिंन।’
अञ्जनाका अनुसार दशैं–तिहार पारिवारिक माहोलका चाडपर्व भएकाले, दशैंमा राम्रो पारिवारिक फिल्म हेर्ने चाहना भएकाहरूका लागि उपयुक्त भएकै कारण उनले निर्माण पक्षलाई दशैंमै फिल्म रिलिज गर्न सुझाव दिएकी थिइन्। ‘जुन प्रकार र परिवेशमा बनेको छ, त्यो हिसाबले चाडबाडमै लगाउनुपर्ने फिल्म हो। तर हामीले भने चाडबाड सकिएपछि रिलिज गर्न लागिरहेका छौं,’ उनले भनिन् ।
यो फिल्म सबै उमेर समूहका दर्शकलाई मनपर्ने अञ्जनाको दाबी छ। उनका अनुसार यसले सबै उमेरका मानिसका कुरालाई समेटेको छ । फिल्ममा शीर्ष भूमिका नीर शाहको भए पनि त्यसपछि दर्शकले याद गर्ने भूमिका आफूले गरेको अञ्जनाको भनाइ छ ।
उनले आफ्नो पात्रका बारेमा भनिन्, ‘फिल्ममा म अलिक मिजासिलो पात्रमा छु । यसभित्रका विभिन्न परिस्थितिले मलाई त्यसरी प्रस्तुत गर्छ । मेरो पात्र एकदमै यादगार हुने देख्छु । मैले निर्वाह गरेको ‘रूपा’ पात्रको स्वभाव नै सम्झिने खालको छ। नीर शाह नजरमा परिहाल्नुहुन्छ, त्यसपछि म पर्छु। पात्र बलियो भएकैले म यसरी प्रचारमा हिँडिरहेकी छु।’
रिलिज मिति नजिकिँदै आइरहेको भए पनि अञ्जना उति आत्तिएकी छैनन् । उनलाई फिल्मले दर्शकको मन जित्ने पूर्ण विश्वास छ । ‘परान’ फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन्।
कार्तिक २४ गते रिलिज हुने पारिवारिक फिल्म ‘परान’को शीर्ष भूमिकामा वरिष्ठ कलाकार नीर शाह छन् । फिल्मले जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको कथा बोल्छ ।