फिल्म ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ। सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघको २३ गतेबाट रिलिजमा आउने पक्का भएको छ।
बुधबार ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । यो फिल्ममा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ । यही फिल्मबाट गायक समीर श्रेष्ठ फिल्मको पर्दामा नायकको रुपमा उदाउँदैछन्।

महिला केन्द्रित यो फिल्मको फस्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् । उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरी यो फिल्म बनेको छ । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्ममा आर.पी प्रोडक्सन एसोसियट निर्माताको रुपमा छ । फिल्मका निर्माता सागर लम्साल हुन् । फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ।
शिशिर विशांखेको डीओपी रहेको फिल्ममा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कातिक बरालको कोरियोग्राफी छ । यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।
यस्तै, नायिका आना शर्माले ४ वर्ष अगाडि नै यो कथा आफूले सुनेको र यसको कथावस्तु फरक लागेकाले जोडिएको सुनाइन्। उनले अहिले आफ्नो जीवनमा ‘रमिताको पिरती’ नै घुमिरहेको तर्क गर्दैै दर्शकलाई यो फिल्मको कथावस्तु मनपर्ने तर्क गरिन्।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मले केही फरक आयाम र कथा बोकेको भन्दै शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै नव–नायक समीर श्रेष्ठले आफू यो फिल्ममा संगीतकारको रुपमा जोडिएको र कथावस्तु मन परेपछि काम गरेको सुनाए।



