’अभिमन्युः च्याप्टर १’ प्रिमियरमा प्रशंसा ’अभिमन्युः च्याप्टर १’ प्रिमियरमा प्रशंसा

बिहीबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ’अभिमन्युः च्याप्टर १’ को सोमबार साँझ प्रिमियर शो सम्पन्न भयो। प्रिमियरमा सहभागी अतिथि दर्शकहरूले फिल्ममा एक अप्रत्याशित ’सरप्राइज’ पाए।

प्रदर्शन अघिसम्म निर्माण पक्षले गोप्य राखेको उक्त ’सरप्राइज’ ले हलमा हुटिङ र ताली बज्यो। फिल्मको अन्त्यतिर नेपाली रजतपटकी चर्चित अभिनेत्री रेखा थापाको अप्रत्याशित प्रवेश देख्न सकिन्छ। रेखाको उपस्थितिलाई दर्शकले आश्चर्यजनक र रोमाञ्चक मानेका छन्।

यसका साथै फिल्मले आफ्नो कथा यहीँ नसकिएको संकेत समेत गरेको छ। ’पोस्ट क्रेडिट’ मार्फत निर्माण पक्षले ’अभिमन्युः च्याप्टर २’ को औपचारिक घोषणा गरेको हो। रेखा थापाको प्रवेश र सिक्वेलको घोषणाले आगामी शृंखलामा उनको भूमिका मुख्य र सशक्त हुने संकेत गर्छ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको ’अभिमन्युः च्याप्टर १’ सुशान्त गौतमले निर्देशन गरेका हुन्। फिल्ममा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरूङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय छ।

प्रिमियरमा उपस्थित फिल्मकर्मीहरूले कलाकारहरूको अभिनय, सस्पेन्स कथा र समग्र प्रस्तुतिको प्रशंसा गरेका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti