फिल्म ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन् । पोस्टरले फिल्मको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गरेको छ । फिल्म माघ २३ गते रिलिज हुँदैछ।
सौम्य र क्लासिक लुकमा रहेको पोस्टरमा प्रेम, पवित्रता र सरलताको सङ्केतको रूपमा सेतो टोनको पृष्ठभूमि प्रयोग गरिएको छ । पृष्ठभूमिमा प्रेमको तरङ्ग बुझाउने ’वेभ’हरू प्रयोग गरिएको छ । अभिषेक र आकृतिको हाँसो र एक अर्काप्रति देखिएको आत्मीयताले कथावस्तु शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ । यस पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन्।
पोस्टर सार्वजनिकसँगै फिल्मको नयाँ गीत ‘तिमी बिना …’ को रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार उक्त गीत पुस ३ गते डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ । यसअघि सार्वजनिक भएको पहिलो गीत ’कता छौ मेरो फूल …’को सफलतापछि नयाँ गीतप्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ । गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को स्वरमा रहेको यो गीत युट्युब र टिकटकमा विशेष गरी ‘जेन–जी’ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ।
दिनेश राउत निर्देशित यो फिल्म भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले चलचित्रले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ । फिल्ममा नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् । साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाँक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारको पनि अभिनय रहेको छ ।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक चलचित्रबाट चिनिएका निर्देशक दिनेश राउत पछिल्ला वर्षमा ’प्रसाद’, प्रकाश’, ’पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित रहे पनि ‘कुमारी’मार्फत पुनः प्रेमकथामा फर्किएका हुन्।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन्। सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ ।


