’कुमारी’को कन्सर्ट नेपालगन्ज, दमकदेखि भृकुटीमण्डपसम्म हुने ’कुमारी’को कन्सर्ट नेपालगन्ज, दमकदेखि भृकुटीमण्डपसम्म हुने

माघ २३ गते रिलिज हुने फिल्म ’कुमारी’को प्रवद्र्धनका लागि फिल्म र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर हुने ’कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’को ट्रेलर सार्वजनिक गर्दै विस्तृत जानकारी गराइएको छ।

बिहीबार साँझ काठमाडौंमा यस चलचित्रका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ’केहर एन्ड द लुङा’ले चलचित्र गीतमा प्रस्तुति दिँदै आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै यसबारेमा जानकारी गराइएको हो । बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना हुने यस एकीकृत प्रमोशनल टुर देशव्यापी स्तरमा सञ्चालन हुनेछ, जहाँ ब्यान्डसहित चलचित्रका प्रमुख कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउतसहितको समूह रहनेछ । फिल्म ’कुमारी’ को साङ्गीतिक आत्माका रूपमा स्थापित सो ब्यान्डलाई केन्द्रमा राख्दै नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ म्युजिकल कन्सर्ट आयोजना गरिनेछ, जसअन्तर्गत माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा लाइभ कन्सर्ट आयोजना हुनेछ। काठमाडौंको कन्सर्टमै फिल्म ’कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ।

‘कुमारी’को गीत ’डोको बुन्ने निगालो चोयाले’ चर्चित बनेको छ । यस गीतमा स्वर केहर सिंह लिम्बु, शब्द सागर लामिछाने मगर र सुमन तामाङ, तथा सङ्गीत सुमन तामाङ र केहर सिंह लिम्बुको रहेको छ। बिहीबारको कार्यक्रममा केहरले ’डोको बुन्ने’ र यही चलचित्रको अर्को गीत ’कता छौ मेरो फूल’ प्रस्तुत गरेका थिए।

चलचित्र ’कुमारी’लाई नेपाली प्रेम कथानक धारको सशक्त प्रस्तुति मानिएको छ। देशव्यापी लाइभ कन्सर्ट टुरमार्फत चलचित्र र सङ्गीतलाई एउटै उत्सवमा रूपान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको निर्देशक दिनेश राउतले बताए । फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti