‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’को अग्रिम बुकिङ खुला भएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत सिनेमा हलले अग्रिम बुकिङ खुला गरेका हुन् ।

पहिलो दिनका लागि क्यूएफएक्सले काठमाडौंमा १६ र काठमाडौंबाहिर दमौलीबाहेक १९ शो दिएको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआइले आफ्ना ६ वटा चेनमा तीनवटाका दरले १८ शो दिएको छ । यसैगरी, वान सिनेमाजले ५ शो र बिग मुभिजमा ४ शो दिएका छन् ।
चलचित्र ‘रोल नं १’ले देशभर १ सय ५० हाहारी शो पाएको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले बताए । यस सिनेमाका वितरक करण श्रेष्ठ र छविराज ओझाले दिएको जानकारी अनुसार उपत्यकाका हल र मोफसलका केही सिनेमा हलहरुले शो निकाल्न बाँकी रहेको छ, सम्भवत ३ बजे भित्रमा सबै जानकारी आउने बताए ।
‘हरेक विद्यार्थी’को कथा स्लोगन रहेको चलचित्र ‘रोल नं १’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् ।
चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
चलचित्रका मुख्य कलाकारले यो सिनेमाको प्रचार देशभर पुगेर गरेका छन् । स्कुल–स्कुल पुगेर आफ्ना कुरा राख्दै विद्यार्थीको मनका कुरा सुनिरहेको यो टिम मोफसल र काठमाडौं उपत्यकाका स्कुलस्कुल पुगेर सिनेमाका कलाकारले प्रचार गरेका थिए । ‘रोल नं १’को प्रचार पूर्वी नेपाल झापाबाट सुरु गरेको टिमले पश्चिममा नेपालगञ्ज सम्म पुगेर गरेका थिए ।
फेरि कलाकार दर्शक भेट्न मोफसलका हलमा पुग्ने तयारीमा छन् ।
सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सिनेमालाई ग्रेडिङ गर्ने क्रममा चलचित्रको खुलेर तारिफ गरेको निर्माण टिमले बताएको छ । सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सिनेमाको तारिफ गरेपछि उत्साहित बनेको निर्माण टिम चलचित्र प्रदर्शनपछि दर्शकलाई भेट्न हलहलमा पुग्ने तयारीमा छ ।
चलचित्रले वर्ड अफ माउथ राम्रो पाउनेमा ढुक्क देखिएको निर्माण टिम ‘पूर्ण बहादुरको सारङ्गी’जस्तै विस्तारै दर्शकको माया पाउनेमा विश्वस्त छ ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन् ।



