गायिका एलिना चौहानले पहिरन र श्रृंगारसम्बन्धी व्यवसाय थालेकी छन् । मध्यबानेश्वरमा खोलिएको यो आउटलेटको उद्घाटन सोमबार गरिएको छ । महिला विशेष फेसन स्टोर ‘रमणी बाइ एलिना’मा दुई करोड रुपैयाँ लगानी गरेको एलिनाले जनाएकी छन् ।
स्टोरमा साडी, कुर्ता, लेहेँगा, चप्पल, ब्याग, चुरा, गहना तथा अन्य श्रृंगारका सामग्री उपलब्ध छन् । ‘महिलालाई चाहिने अधिकांश सामग्री यहाँ पाइन्छ । हामीले फेन्सीभन्दा पनि ट्रेडिसनल सामानलाई प्राथमिकता दिएका छौं,’ एलिनाले भनिन् ।
‘विदेश गएका वा बिरामी पर्दा आर्थिक समस्या भोगेका कलाकारका कथा देख्दा एक दिन मेरो अवस्था पनि त्यस्तै हुन सक्छ भन्ने लाग्थ्यो । त्यो बेला कसैसँग हात फैलाउन नपरोस् भनेर अहिलेदेखि नै दोब्बर मेहनत गरिरहेकी छु,’ एलिनाले भनिन् ।

गीत रेकर्डिङ र मेला महोत्सवमा व्यस्त रहे पनि भविष्यलाई सुरक्षित बनाउने सोचले व्यवसायमा हात हालेको एलिनाले बताइन् । कलाकारिताको अश्चितताको कारण आफूले आर्थिक सुरक्षा हेरेर पनि व्यवसाय थालेको उनको भनाइ छ ।
एलिना यतिबेला तीज गीत रेकर्डिङमा पनि व्यस्त छिन् । उनको आफ्नै युट्युब च्यानलबाट शुक्रबारमात्रै ‘नौरती फुली’ बोलको गीत सार्वजनिक भएको छ ।

