अभिनेता नाजिर हुसेनले नामकै आधारमा आफूलाई दिल्ली विमानस्थलमा दोस्रोपटक केरकार गरिएको घटना सार्वजनिक गरेका छन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासमा फिल्म देखाउन नाजिरसहित निर्देशक समुन्द्र भट्ट त्यहाँ गएका थिए । भट्टलाई भने विमानस्थलका सुरक्षाकर्मीले केही पनि सोधपुछ नगरेको नाजिरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
आफू अभिनित फिल्म ‘गुन्यु चोलो’को प्रदर्शन सकेर काठमाडौं फर्किने बेलामा दिल्ली विमानस्थलमा सुुरक्षाकर्मीले विशेष कक्षमा लगेर केरकार गरिएको जनाएका हुन् ।
आफूलाई नेपालमा किन जान लागेको, दिल्लीमा किन आएको र भारतीय मुद्रा छ कि छैन भन्ने लगायतका प्रश्न सुरक्षाकर्मीले गरेको नाजिरले जनाएका छन् ।
‘मेरो नामको कारणले म हरेक पटक रोकिन्छु । अनि विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो गलत हो’ नाजिरले लेखेका छन्, ‘यदि होइन भने, मैले कारण थाहा पाउनुपर्छ ।
नेपाल एयरलाइन्सको जहाजको टिभीमा गुगल म्यापले लुम्बिनी देखाउँदा भने आफू ढुक्क भएको अनुभव नाजिरले सुनाएका छन् । यस्तो घटना दोस्रोपटक भएको खुलासा पनि उनले गरेका छन् ।
‘पहिलोपटक यसरी नै सोधपुछ गर्दा ठिकै जस्तो लागेको थियो । तर, दोस्रोपटक ठीक लागेको छैन’ नाजिरले उल्लेख गरेका छन् ।

