आफ्नै चलचित्र हेर्न हलमै पुगे सर्जक–कलाकार, ‘ओल्ड इज गोल्ड’मा आज पनि हाउसफुल — भोलि अन्तिम दिन
‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै सातदिने शृंखला भोली समापन हुँदै, शिव श्रेष्ठसहित विशिष्ट कलाकार सहभागी हुने;
पर्दामा दशकौँ पुरानो ‘शान्तिदीप’ चलिरहेको थियो। दर्शकदीर्घामा भने त्यही चलचित्रका निर्देशक लक्ष्मीनाथ शर्मा आफ्नै सिर्जनालाई फेरि ठूलो पर्दामा हेरिरहेका थिए। उनीसँगै वरिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी, नेपालकी प्रथम नायिका भुवन चन्द, कलाकार टिका पहाडीलगायत नेपाली चलचित्रका परिचित अनुहार उपस्थित थिए।

चलचित्र विकास बोर्डले आयोजना गरेको ‘ओल्ड इज गोल्ड’ विशेष चलचित्र प्रदर्शन शृंखला मंगलबार पनि यस्तै ऐतिहासिक दृश्यको साक्षी बन्यो। पुराना नेपाली चलचित्रलाई पुनः ठूलो पर्दामा हेर्न दर्शकको उत्साह कायमै रहँदा आजका प्रदर्शनमा पनि हल भरिएको थियो।
आजको पहिलो शोमा ‘शान्तिदीप’ प्रदर्शन गरिएको थियो। चलचित्रका निर्देशक लक्ष्मीनाथ शर्मा स्वयं उपस्थित भएर वर्षौँपछि आफ्नै सिर्जनालाई दर्शकसँगै बसेर ठूलो पर्दामा हेरे। कार्यक्रममा बसुन्धरा भुसाल, चैत्यदेवी, भुवन चन्द र टिका पहाडीलगायत विशिष्ट कलाकारको उपस्थिति रह्यो। कार्यक्रमलाई बोर्ड अध्यक्ष दिनेश डिसिले त्यो बेलाका अनुभव बारे सहजिकरण गर्नुभयो ।
दोस्रो शोमा पुरानो नेपाली चलचित्र ‘हिजो आज भोलि’ प्रदर्शन गरियो। उक्त प्रदर्शनमा पनि प्रथम नायिका भुवन चन्द, राजकुमार खड्का सहित चलचित्र क्षेत्रका कलाकार तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
पर्दामा चलचित्र, दर्शकदीर्घामा त्यही इतिहासका पात्र
‘ओल्ड इज गोल्ड’को विशेषता पुरानो चलचित्र ठूलो पर्दामा देखाइनुमा मात्र सीमित छैन। दशकौँअघि ती चलचित्र निर्माण गर्दा प्रत्यक्ष जोडिएका सर्जक र कलाकार स्वयं दर्शकसँगै बसेर आफ्ना सिर्जना हेरिरहेको दृश्यले कार्यक्रमलाई नेपाली चलचित्र इतिहाससँगको जीवन्त पुनर्मिलन बनाएको छ।
एकातिर ती चलचित्र पहिलोपटक प्रदर्शन हुँदाकै समय सम्झने पुरानो पुस्ता र अर्कोतिर नेपाली चलचित्रको त्यो कालखण्ड प्रत्यक्ष नदेखेको नयाँ पुस्ता एउटै हलमा भेटिएका छन्।
पुराना चलचित्रलाई डिजिटाइज गरी पुनः प्रदर्शन गरिएको यो शृंखलाले नेपाली चलचित्रको ऐतिहासिक विरासतलाई अभिलेखमा सीमित नराखी पुनः दर्शकमाझ ल्याएको छ।
कार्यक्रमप्रति देखिएको दर्शकको निरन्तर उपस्थितिले पनि पुराना नेपाली चलचित्रप्रतिको चासो अझै बलियो रहेको देखाएको छ। शृंखलाका हरेक दिन दर्शकले उत्साहजनक सहभागिता जनाएका छन् भने शोहरू लगातार हाउसफुल हुँदै आएका छन्।
‘आमा’बाट सुरु भएको सातदिने यात्रा
नेपाली चलचित्र इतिहासका १० वटा पुराना डिजिटाइज गरिएका चलचित्रलाई ठूलो पर्दामा पुनः प्रदर्शन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ आयोजना गरेको हो।
सात दिनसम्म चल्ने कार्यक्रमको सुरुवात नेपालको पहिलो चलचित्र ‘आमा’बाट भएको थियो।
त्यसयता विभिन्न कालखण्डका ऐतिहासिक तथा चर्चित नेपाली चलचित्र प्रदर्शन हुँदै आएका छन्। चलचित्र प्रदर्शनसँगै ती चलचित्रसँग जोडिएका कलाकार, निर्देशक तथा चलचित्रकर्मीको उपस्थितिले प्रत्येक दिनलाई विशेष बनाउँदै आएको छ।
पुराना पुस्ताका दर्शकका लागि आफ्नै समयको चलचित्र ठूलो पर्दामा फेरि हेर्ने अवसर बनेको यो कार्यक्रम नयाँ पुस्ताका लागि भने नेपाली चलचित्रको इतिहाससँग प्रत्यक्ष परिचित हुने माध्यम बनेको छ।
भोलि अन्तिम दिन, पर्दामा ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’
सात दिनदेखि चलिरहेको ‘ओल्ड इज गोल्ड’ विशेष प्रदर्शन शृंखला भोलि समापन हुँदैछ।
अन्तिम दिन दुई महत्वपूर्ण नेपाली चलचित्र ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शन गरिनेछन्।
समापन दिनलाई अझ विशेष बनाउन नायक शिव श्रेष्ठसहित प्रदर्शन शृंखलामा समेटिएका चलचित्रहरूसँग सम्बन्धित विभिन्न विशिष्ट तथा वरिष्ठ कलाकारहरूको सहभागिता रहनेछ।
कार्यक्रममा नेपाली चलचित्रका विभिन्न पुस्ताका कलाकार तथा चलचित्रकर्मी एकै ठाउँमा उपस्थित हुने भएकाले अन्तिम दिन चलचित्र प्रदर्शनसँगै नेपाली चलचित्र इतिहासका सर्जक र दर्शकबीचको अर्को विशेष भेटसमेत बन्नेछ।
‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’का दुवै प्रदर्शन पूर्ण रूपमा निःशुल्क हुनेछन्। दर्शकले चलचित्र हेर्न कुनै टिकट खरिद गर्नुपर्ने छैन।
‘आमा’बाट सुरु भएको सातदिने यात्रा भोलि ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै टुंगिनेछ। हरेक दिन भरिएका हल र पुरानोदेखि नयाँ पुस्तासम्मको सहभागिताले भने एउटा सन्देश छाडेको छ—नेपाली चलचित्रका पुराना कृतिहरू इतिहासका पानामा मात्र होइन, मौका पाए आज पनि ठूलो पर्दामा दर्शक तान्न सक्छन्।

